काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको बताएका छन् ।
घर जग्गा व्यवसायमा देखिएका नकारात्मक भाष्यलाई चिर्दै मुलुकको प्रचलित कानूनअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गरेका उनले नयाँ नापी ऐनको ड्राफ्ट समेत मन्त्रालय तयार गरेको बताउँदै अब छलफल गर्दै मन्त्रिपरिषदमा लैजाने जानकारी दिए ।
नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भूमिसम्बन्धी ऐन निकै पुरानो भएकाले काम गर्न समस्या देखिएकाले परिमार्जनको तयारी भइरहेको बताए ।
उनले स्वबासी, गुठी लगाएतका जग्गामा देखिएको समस्या समाधान गर्नका लागि समिति गठन गर्ने र त्यसको प्रतिवेदनका आधारमा सरकारले आवश्यक निकास निकाल्ने उल्लेख गरे ।
उनले जग्गा तथा आवास कारोवारलाई सहज गर्न उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।