काठमाडौं । नेकपा एमालेबाट निष्कासन भएका नेता डा. भीम रावलले कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने नाममा मार्क्सवादी विचारधारा र कम्युनिष्ट आन्दोलनको मर्ममाथि कुठाराघात भइरहेको आरोप लगाएका छन् ।
मंगलबार राति सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै रावलले यस्तो आरोप लगाएका हुन् ।
रावलले हालका केही शीर्षस्थ कम्युनिष्ट नेताहरूलाई लक्षित गर्दै भने, 'कम्युनिष्ट पार्टीका घोषित सिद्धान्त, नीति र कार्यक्रम विपरीत दिशामा हिँड्नेहरूले स्थापना दिवस मनाउनु मार्क्सवादकै उपहास हो ।'
उनले सत्ताका लागि जस्तोसुकै शक्ति र समूहसँग मिलेर भागबण्डा गर्ने, पार्टी फुटाउने, गुटबन्दी गर्ने, दलाल र विचौलियाको संरक्षण गर्ने, संविधान मिचेर संसद विघटन गर्ने जस्ता कार्यमार्फत कम्युनिष्ट आन्दोलनलाई नै बदनाम बनाइएको आरोप लगाए।
रावलले थपे, 'कैयौं जनताको त्याग, बलिदान र योगदानको अपमान गर्दै कम्युनिष्ट पार्टीलाई निजी स्वार्थ र पदको भर्याङ बनाइएको छ। कम्युनिष्ट पार्टीको स्थापना दिवस उनीहरूकै नेतृत्वमा मनाउनु हास्यास्पद र ढोंग मात्र हो ।'
उनको प्रश्न थियो — 'साँच्चिकै मार्क्सवादी हुँ भन्नेले अर्को मार्क्सवादीलाई मुख्य शत्रु ठान्ने, र कम्युनिष्ट विरोधीलाई सबैभन्दा घनिष्ट मित्र बनाउने प्रवृत्ति के समाजवाद ल्याउने बाटो हो ?'
भीम रावलले दुई दर्जनभन्दा धेरै कम्युनिष्ट पार्टीको अस्तित्वको सन्दर्भ उठाउँदै भने, 'यो विखण्डनको अवस्था र अवसरवादिताको जवाफ स्थापना दिवस मनाइरहँदा टाउके र लाउके नेताहरूले दिनुपर्छ।'