काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको बारे सरकारको जानकारीमा नरहेको बताएका छन् ।
आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामाबारे आफूलाई पनि जानकारी नभएको बताएका हुन् ।
उनले भने–‘शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारको जानकारीमा छैन । प्रधानमन्त्रीको कार्यालयमा राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुन्छ । क्याबिनेटमा जानकारी हुन्छ । राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो । आजको दिनसम्म जानकारी छैन ।’
विद्या भट्टराई विगत एक महिनादेखि बिरामी रहेको भन्दै मन्त्री गुरुङले मन्त्रालयमा गएर काम गर्ने परिस्थिति नभएको हुनसक्ने बताए ।
यसअघि आजै गृहमन्त्री रमेश लेखकले पनि शिक्षामन्त्रीको राजिनामाबारे अनभिज्ञता प्रकट गरेका थिए ।
बुधबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे आफू अनभिज्ञ रहेको बताएका थिए ।
सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै समस्या नरहेको भन्दै उनले भने–‘जहाँसम्म शिक्षामन्त्रीको राजीनामाको सवाल छ । उहाँले राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीसँग उहाँको कुरा भएको छ । उहाँसँग के कुरा भएको छ, के कारणले कसरी दिनुभएको छ उहाँले भन्नु भएको होला ।’
आन्दोलनरत शिक्षकहरूको मागका बारेमा सरकार गम्भीर रहेको भन्दै उनले सम्भव भएसम्म सरकारले अहिले गर्न सक्ने माग सम्बोधन गर्न तयार रहेको बताए ।
उनले भने–‘शिक्षक साथीहरूको प्रदर्शन आन्दोलनको कुरा छ । त्यसका बारेमा गम्भीरतापूर्वक कुराकानी भइरहेको छ । हिजो साँझ पनि कुरा भएको छ । अहिले गर्न सक्ने माग सम्बोधन गर्न सरकार तयार छ ।’