काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानबीच भेटवार्ता भएको छ।
उनीहरुबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएका् हो । भेटमा दुई देशबीचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
उपप्रधानमन्त्री नाह्यानले युएईका व्यावसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषि आदि क्षेत्रमा व्यापार र लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताए ।
नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका उनले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरू तत्पर रहेको अवगत गराए ।
प्रधानमन्त्री ओलीले विकासको मार्गमा युएईले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत्, हरित ऊर्जा, हाइड्रो इनर्जी आदि क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरेको बताइएको छ ।