काठमाडौं । नेपाल चिकित्सक संघले काठमाडौं बाहिरका डाक्टरलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका डाक्टरलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ ।
चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको बैठकले यस्तो निर्देशन दिएको हो ।
निजी मेडिकल कलेजमा काम गर्ने डाक्टरलाई आकस्मिक बाहेक सम्पूर्ण काम संघर्षमा आउन अनुरोध गरिएको बुधबार पत्रकार सम्मेलनमा कार्यकारी सदस्य तेत्छु मल्लले बताए ।
देशभरका सम्पूर्ण चिकित्सकलाई भोलि १० देखि १२ बजेसम्म जिल्ला प्रशासनका कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका चिकित्सकलाई माइतीघरमा उपस्थित भइ स्वास्थ्य मन्त्रालय घेर्न आह्वान गरिएको छ । साथै २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सेवा रोक्ने संघले चेतावनी दिएको छ ।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यावन्यन नहुनु र आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानमा एकैपटक म्याचिङ प्रक्रिया नगराएपछि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताइएको छ ।