काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले महासंघलाई आज नै वार्तामा बोलाएका थिए ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार केही बेरमै सुरु हुने छ । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले नै गर्ने छन् ।
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । ‘नवनियुक्त मन्त्रीज्यूले बोलाउनु भएको छ । एकछिनमा हामी मन्त्रालयमा जान्छौं ।’ महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
तर उनले यसलाई वार्ता भन्न चाहिनन् । नवनियुक्त मन्त्रीले बोलाएकाले जान लागेको उनले बताइन् ।
आजै शिक्षा मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह पनि गरेका थिए । संसद भवन परिसमा पत्रकारसँग उनले कानून र बजेटले भ्याउनेसम्मको माग पूरा गर्ने बताएका छन् ।
उनले भने–‘सरकार वार्ता र संवादको माध्यमबाट अहिले देखिएको समस्या समाधान गर्न प्रतिबद्ध छ । शिक्षक साथीहरूलाई लचिलो भएर आउन आग्रह गर्दछु,’ उनले भने–‘ऐन कानूनको सिमा र बजेटले धान्ने सिमाभित्र रहेर समाधान खोज्न तयार छौँ ।’
शिक्षामन्त्री रघुजी पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ–विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोवस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ । ‘तसर्थ, शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछ ।’
यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो ।
शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा छन् ।