काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीच भएको वार्ता निष्कर्षबिहीन भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बिहान भएको बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा पदाधिकारी र आन्दोलन शिक्षकहरू सहभागी थिए।
बैठकपश्चात अध्यक्ष सुवेदीले पुनः छलफल र वार्ता गर्ने सहमति भएको बताए। उनले वार्ता र आन्दोलन सँगसँगै जाने बताए।
सुवेदीले भने–‘अहिले नेपाल शिक्षक महासंघ आन्दोलनमा छ। आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुको बारेमा शिक्षा मन्त्रीको उपस्थितिमा छलफल भयो। छलफल र संवादलाई निरन्तरता दिने निर्णय भयो। दुई पक्षीय सहमतिमा फेरि बैठक बस्छ।’
उनले अब बैठक कहिले बस्छ भन्ने टुंगो लाग्न बाँकी रहेको बताए।
सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका हुन्। शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए।
संसद् भवन परिसरमा मन्त्री पन्तले भने, ‘सरकार शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध छ। शिक्षक साथीहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु ।’ हिजो वार्ताका लागि भनेर सिंहरदरबार छिरेकी शिक्षक महासंघका प्रतिनिधिहरु वार्ता नै नगरी बाहिरिएका थिए ।
आज भने उनीहरु वार्तामा गएका हुन् । शिक्षकहरुले सरकारसमक्ष आफूहरूले जायज माग राखेकाले सबै माग पूरा हुनुपर्ने अडान राखेका छन्।
गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौंमा आन्दोलनमा रहेका छन्।
आजको आन्दोलनमा शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोकेको थियो ।