Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विद्युत प्राधिकरणले भन्यो–हल्लाको पछि नलाग्नुस्, लोडसेडिङ हुँदैन

विद्युत प्राधिकरणले भन्यो–हल्लाको पछि नलाग्नुस्, लोडसेडिङ हुँदैन

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत आपूर्तिमा कुनै समस्या नभएको बताउँदै लोडसेडिङ नहुने जनाएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले यस्तो जनाएको हो । सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी भ्रम फैलाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको स्पष्ट पार्दै प्राधिकरणले हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने जनाएको छ ।

प्राधिकरणले गर्मी याम सुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा मागअनुसार विद्युत आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई २४ सै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको स्पष्ट गरेको छ ।

प्राधिकरणका अनुसार हाल देशभर विद्युतको जडित क्षमता तीन हजार ५१२ मेगावाट पुगेको छ ।

यसमध्ये प्राधिकरणकै स्वामित्वमा रहेका जलविद्युत आयोजना ६६२ मेगावाट, सौर्य ऊर्जाबाट २५ मेगावाट, तापीयबाट ५३ मेगावाट हाल (बन्द) सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित दुई हजार १४९ मेगावाट छन् ।

हाल आन्तरिक उत्पादन औसतमा एक हजार १७५ मेगावाट रहेकोमा, विद्युतको उच्च माग (पिक लोड) दुई हजार ७७ मेगावाट पुगेको छ । त्यसमा एक हजार ५९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको प्राधिकरणले सूचनामार्फत जनाएको छ ।

प्राधिकरणले हालको मौसम (प्रि–मनसुन) का कारण कतिपय स्थानमा आँधी, हुरी, चट्याङ र अविरल वर्षाले संरचनामा क्षति पुग्दा अस्थायी अवरोध हुन सक्ने जनाएको छ ।

सूचनामा भनिएको छ–‘मर्मतसम्भार, भूमिगत लाइन विस्तार, सडक तथा खानेपानीको निर्माण कार्यका कारण पनि कतै कतै विद्युत बन्द हुने अवस्था आउन सक्नेछ, जसको सूचना अग्रिम रूपमा दिइँदै आएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077