काठमाडौं । आवासीय चिकित्सक र सरकारबीच सहमति भएको छ ।
शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका पदाधिकारी र आवासीय चिकित्सकबीचको छलफलपछि तीन विषयमा सहमति भएको हो ।
तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकको आन्दोलन स्थगन गरिएको छ ।
चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, ‘म्याचिङ’का चिकित्सकका निम्ति यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने विषय त्यहीँबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन सम्झौता भएसँगै आवासीय चिकित्सक आन्दोलन छाड्न सहमत भएका हुन् ।
सहमतिसँगै सञ्चारकर्मीसित मन्त्री पौडेलले आवासीय चिकित्सकका माग पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यो कार्यान्वयन गर्ने सहमति भएको बताए ।
सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिन चिकित्सक तयार रहेका उनले जानकारी दिए ।