काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरुले वैदेशिक भ्रमणबारे पूर्वजानकारी र ब्रिफिङ समितिलाई नगरेको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको बताएका थिए ।
उनले भने, ‘हाम्रा मन्त्री र प्रधानमन्त्रीहरूको विदेश भ्रमणको बारेमा समितिलाई जानकारी अनिवार्य गराउनुपर्छ । यसको आवश्यकता उहाँहरूलाई पनि बोध गराउनुपर्छ ।’
विश्व समुदायमा भइरहेका कतिपय घटनाहरू नेपालसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबारे समितिलाई जानकारी गराउन समिति सभापतिको ध्यानाकर्षण गराए ।