काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउनकै लागि भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउनका साथै स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताए।
देशको स्वास्थ्य शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु खुसीको विषय भएको उनले धारणा राखे।
उनले भने, ‘प्रतिष्ठानले आगामी दिनमा सेवा क्षेत्रलाई थप व्यापक बनाउन,स्वास्थ्य सेवामा नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्दछु ।’