काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन अगाडि बढाउन नदिने अडान दोहोर्याएको छ ।
आजको संसद बैठक सुरु हुनेवित्तिकै माओवादी सांसद वर्षमान पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताउँदै यो प्रकरणको निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरेका थिए ।
उनले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् बैठक अघि बढ्न नसक्ने बताएपछि संसद अवरुद्ध भएको थियो । आधा घण्टाका लागि स्थगित भएको संसद २ घण्टा वित्नै लाग्दा पनि सुरु हुन सकेको छैन ।
माओवादी सांसद राजन दाहालले पनि भिजिट भिसा प्रकरणमा गृह प्रशासनको संस्थागत संलग्नता भएको दाबी गर्दै गृहमन्त्रीको राजीनामा नआई सदन अगाडि बढाउन नदिने अडान दोहोर्याएका हुन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब गृहमन्त्री रमेश लेखकले जवाफ नभई राजीनामा दिनुपर्ने बताए।
गृहमन्त्री लेखकलाई अभियुक्त भन्दै उनले भने–‘गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले जवाफ दिने होइन, राजीनामा दिने हो। अब बयान दिने हो, जवाफ दिने होइन। अब उहाँ अभियुक्त हुनुभयो, अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ ?’