काठमाडौं। नेपाल विद्यार्थी संघले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै त्रिवि पदाधिकारीहरुको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेका छन् ।
नेविसंघकले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा. खड्क केसी र शिक्षाध्यक्ष प्रा.दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेका हुन् ।
नेविसंघका विद्यार्थी नेताहरुले आज उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गर्नुका साथै रेक्टर ढकालको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् ।
त्रिविको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा असारभित्र गराउनुपर्ने उल्लेख गरिएको छ ।
सोही शैक्षिक क्यालेन्डर अनुसार त्रिविले स्नातक पहिलो वर्षको परीक्षाका लागि फारम खुलाएको थियो । तर, नेविसंघका कार्यकर्ताहरुले भने शैक्षिक क्यालेण्डर विपरित यतिबेला विद्यार्थीको भर्ना लिन दबाब दिएको छ ।
शैक्षिक सत्रको अन्तिममा आएर भर्ना नलिने र क्यालेण्डर अनुसार नै शैक्षिक गतिविधि गर्ने अडान भीसी र रेक्टरले लिएका थिए ।
दुबैजना आफनो अडानबाट टसमस नभएपछि नेविसंघको नेताहरुले भिसीको कार्यकक्षमा तोडफोड गरेका छन् भने रेक्टरको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
उनले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब आएको बताए । अवाञ्छित गतिविधिसँग झुकेर विश्वविद्यालयको क्यालेण्डर नबिगार्ने उनको अडान छ ।
यता,नेविसंघका विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको लागि भनेर त्रिविले गत माघ ११ गतेदेखि स्नातक तहको पहिलो वर्षको भर्ना रोकेकाले अहिले भर्ना हुन दिनुपर्ने माग गरेका छन् ।
स्ववियु निर्वाचनपश्चात भर्ना हुन पाउने विद्यार्थीहरुको अधिकार पहिलेदेखि नै चलिआएको उनीको भनाइ छ । विद्यार्थीहरु अध्ययन गरिरहेको पनि भर्ना हुन नपाएको उनीहरुको गुनासो छ ।
यदि भर्ना नखोलिएमा विद्यार्थीहरुलाई पढ्नबाट बन्चित गरेमात्रिवि पदाधिकारीहरुविरुद्ध जस्तोसुकै कदम चाल्ने उनीहरुले चेतावनी दिएका छन् ।