श्रीमान्–श्रीमती भन्नेवित्तिकै ‘जीवनसाथी’ भन्ने बुझिन्छ । अझ सामान्य भाषामा भन्ने हो भने जीवनसाथी भनेको जीवन भरको साथी अर्थात बाँचुन्जेलसम्मको साथी हो । त्यसैले पनि श्रीमान्–श्रीमतीबीचको सम्बन्ध एकदमै सुमधुर हुन जरुरी छ ।
श्रीमान्–श्रीमती आपसमा खुलस्त र पारदर्शी हुन सकेको खण्डमा मात्रै श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा सुधार आउँछ । त्यतिमात्रै होइन श्रीमान्–श्रीमतीबीचको सुमधुरताले परिवारिक वातावारणमा पनि सकारात्मक सन्देश पैदा गर्छ ।
त्यसो भन्दै भन्दै गर्दा श्रीमान र श्रीमतीबीच कुनै दुरी रहनुहुन्न, गोपनियता रहनुहुन्न भन्ने पनि होइन । कतिपय कुरा नितान्त व्यक्तिगत हुन्छन् र त्यसमा गोपनियता पनि आवश्यक हुन्छ ।
तर, श्रीमान्–श्रीमतीबीचको माया–प्रेम सधैं प्रगाढ रहिरहोस् भन्नाका लागि आपसी माया–प्रेम सँगसँगै संवादमा शिष्टाचार, शालीनता, सहजता र शिष्टता हुन आवश्यक छ ।
अझ हिन्दू परम्परामा त सात जन्मसम्मको साथी भन्ने गरिन्छ श्रीमान्–श्रीमतीलाई । श्रीमतीलाई अर्धांगिनी भनिन्छ ।
अर्धांगिनीको अर्थ पत्नी हो। यो शब्द संस्कृतबाट आएको हो, जहाँ ‘अर्ध’ को अर्थ ‘आधा’ र ‘अङ्ग’ को अर्थ ‘भाग’ वा ‘अंग’ हो। यसरी, अर्धांगिनी को शाब्दिक अर्थ आधा शरीर हो।
यसको अर्थ पत्नीलाई पतिको आधा अंग मानिन्छ भने पतिलाई पनि पत्नीको आधा अंग मानिन्छ । दुबै मिलेर मात्रै पूर्ण एकाइ बन्दछ । यसको अर्थ श्रीमान्–श्रीमती दुबैका लागि जीवनको अभिन्न अंग हुन् र सुख–दुःखमा समान साझेदार हुन् भन्ने हो।
तर, त्यहि श्रीमान्–श्रीमतीबीच मनमुटाव र कलह हुँदा कतिसम्म असर गर्छ भन्ने पछिल्लो घटनाले देखाएको छ ।
जनकपुरमा भएको एउटा घटनालले श्रीमान्–श्रीमतीबीचको सम्बन्ध कहाँ पुगेको छ भन्ने प्रष्ट देखाएको छ । जीवनभर सँगसँग बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका श्रीमान्–श्रीमतीको सम्बन्ध बलात्कार जस्तो जघन्य अपराधमा आएर टुंगिन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन ।
तर, जनकपुरमा यस्तै भएको छ । श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान् दोषी ठहर मात्रै भएका छैनन्, ६ महिना कैद र एक लाख क्षतिपूर्ति तिराउन अदालतले आदेश समेत दिएको छ ।
जनकपुरधामको धनुषामा श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान् दोषी ठहर भएका हुन् ।
श्रीमानले जबरजस्ती करणी गरेको भन्दै धनुषा जिल्ला अदालतमा २०७९ चैत २१ गते श्रीमतीले मुद्दा दायर गरेकी थिइन् ।
मुद्दा दायर गरेपछि २०८० साउन २१ गते पहिलो पेशी चढेको थियो । पहिलो पेशीमा अदालतले धरौटी माग गर्ने आदेश दिएको थियो । कुल ३६ वटा पेशी चढेपछि शुक्रबार उनको मुद्दामा अन्तिम आदेश आएको हो । अन्तिम आदेशमा श्रीमान् दोषी ठहरीएका हुन् ।
धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्ति तिराउने आदेश दिएको हो ।
न्यायाधीश वर्देवाको इजलाशले जेठ १३ गते वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्ने निर्णय सुनाएको थियो ।
जेठ २९ गतेको पेशीमा सजाय पूर्वको प्रतिवेदन पेस गर्न लगाउने आदेश दिएपछि गत शुक्रबार भएको पेशीमा न्यायाधीश वर्देवाको इजलासले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख क्षतिपूर्ति तिराउने आदेश दिएको हो ।
यस्तै घटनाका अर्का उदाहरण हुन् पूर्व न्यायाधीस भुवन गिरी । उनलाई पनि जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।
न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले २०८१ साल जेठ १३ गते जिल्ला न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।
जिल्ला अदालत कपिलवस्तुमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा गिरीकै श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
यद्यपी वैवाहिक बलात्कार मुद्दामा उनले सफाइ पाइसकेका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठले उनलाई सफाइ दिएका हुन् ।
के हो बलात्कार ?
महिलाको मञ्जुरी बिना गरिने यौन सम्पर्कलाई बलात्कार भनिन्छ । बलात्कार राज्यविरुद्धको अपराध हो । कसैले महिलालाई जोरजुलुम गरी वा करकापमा पारी वा अनुचित प्रभावमा पारी वा डरधाक देखाई यौन सम्पर्क राखेमा त्यस्तो कार्य बलात्कार मानिन्छ ।
कसैले १६ वर्ष उमेर नपुगेकी बालिकालाई मन्जुरी लिई यौन सम्पर्क गरेमा पनि बलात्कार मानिन्छ ।