काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवानलाई दोष दिएर डक्टरकोमा जाने भन्दा योग र ध्यानलाई जोड दिएर खुसी जीवन विताउनुपर्ने बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११ औं विश्व योग दिवस २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
योगलाई दैनिक चर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यताको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
नेपाली समाज अनुशासनबाट पीडित भएको बताउँदै उनले भने, ‘अनुशासनविना ध्यान हुँदैन, राम्रो कुराहरूमा स्थिरता हुनु नै योगको निष्कर्ष हो, मतिबुद्धिसहितको योग आवश्यक छ, जिम गएर ज्यानमा ठूलाठूला मसल बनाएर मात्रै हुँदैन, विवेकबिना योग हुँदैन।’
योगका आठ वटा सूत्रहरुमध्ये अथक योग अनुशासन आवश्यक रहेको उनले बताए । पेट भर्नका लागि नभएर स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्ने बताए ।