काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बजेट पाउने भाग्यमानी पाँच जिल्लामात्रै नेपालमा राखेर बाँकी ७२ वटा अरू देशलाई लिजमा दिनुपर्ने बताएका छन् ।
उनले आर्थिक वर्ष २०८२/८३ का लागि विभाजित बजेट पहुँचवाला नेताको पाँच जिल्लामा मात्रै बाँडिएको भन्दै व्यंग्य गरेका हुन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयकबारेमा बोल्दै उनले बजेट नपाउने जिल्लाहरूलाई अमेरिका, चीन र भारतलाई लिजमा दिनुपर्ने प्रस्ताव गरेका हुन् ।
उनले भने–‘बजेट नै जाँदैन भने ती जिल्ला नेपालमा किन राख्ने ? काठमाडौंमा मात्रै ३ करोडको दरले १३१ योजना छन् । त्यसअनुपातमा सर्लाहीमा कम्तीमा १५–२० वटा त हुनुपर्ने हो । बजेटलाई निजी सम्पत्ती ठानियो । सुदूरपश्चिममा गेटा मेडिकल कलेज छँदैछ, डडेलधुरामा किन अर्को चाहियो । मधेशका लागि किन छुट्याइएन ?’
सहकारी विकास मन्त्री प्रकाशमान सिंहले बजेटलाई निजी सम्पत्ति ठानेर काठमाडौंमा बजेट हालिएको भन्दै आलोचना गरे ।
तर, सिंहले बोलिरहँदा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियामापत्ति गरेका थिए । उनले ५ बाहेक अरु जिल्लालाई अरु देशलाई लिजमा दिए हुन्छ भनेर बोलेको कुरालाई लिएर आपत्ति जनाएका थिए ।