अछाम । चौरपाटी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिका अध्यक्ष भीम बहादुर साउँदले मंगलबार पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् ।
नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष पालिकाभित्रका सबै बालबालिकाहरूले तोकिएका खोप प्राप्त गरेको सुनिश्चिततासहित यस्तो घोषणा गर्ने गरिन्छ ।
सोही अनुसार मंगलबार गाउँपालिका खोप समन्वय समितिको आयोजनामा आयोजित एक कार्यक्रमकाबीच पालिकाकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । स्वास्थ्य शाखा प्रमुख खेम बोगटीका अनुसार एक वर्षमा पालिकाभित्रका एक हजार ५४८ बालबालिकालाई खोप लगाइएको थियो ।
विगत एक वर्षको अवधिमा ०–१५ महिनासम्मका ३५८ र १६–५९ महिनासम्मका ११९० बालबालिकाहरूको घरघरमा पुगेर खोपको अवस्था यकिन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख खेम बोगटीले जानकारी दिए ।
त्यसमा बीचमा दुई जना खोप लगाउन छुटेका थिए। छुटेकालाई पनि खोप लगाइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उनले बताए । यसअघि पालिकाका सातवटै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।
घोषणा कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना, सातवटै वडाका अध्यक्ष, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।