Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

शुक्रवार , आषाढ १३, २०८२

कञ्चनपुर । गर्मी र वर्षातको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ।

जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेङ्गुको सङक्रमण बढ्दै गएको छ।

जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताए।

'तापक्रम र वर्षाको चक्रले डेङ्गुको जोखिमलाई बढाएको छ,' उनले भने, 'पहिला गर्मी र वर्षाका बेलामात्र डेङ्गुको सङक्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेको छ, वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ।'

लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पुर्याउँदा डेङ्गुको सङ्क्रमण चुनौतीका रूपमा देखापरेको उनको भनाइ छ । उनका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशका एक सय ६७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ।

जनवरीमा २२, फेब्रुअरीमा २७, मार्चमा १७, अप्रिलमा ४०, मेमा ३४ र जुनको हालसम्म २० जनामा डेङ्गु सङ्क्रमण देखापरेको छ। सोही अवधिमा सबैभन्दा बढी डडेल्धुरामा ३४ जनमा र त्यसपछि कैलालीमा ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।

कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण देखापरेको छ। बैतडीमा भने जनवरीदेखि जुन महिनाको अहिलेसम्म डेङ्गुका बिरामी देखापरेका छैनन् ।

एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेङ्गु सर्छ। पानी जम्ने ठाउँ र प्लाष्टिकजन्य फोहर व्यवस्थापन हुन नसक्दा डेङ्गु सार्ने लामखुट्टेको वृद्धि विकास हुँदै गएको उल्लेख गर्दै उनले डेङ्गुलाई मौसमी समस्याका रूपमा मात्र नबुझेर वर्षभरि नै सतर्कता तथा सावधानी अपनाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077