काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा बाल विकास शिक्षाको विषयमा सहमति जुटेको छ ।
समितिको जारी बैठकमा सभापति अम्मरबहादुर थापाले बाल विकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए ।
सोही अनुसार समिति सदस्यहरूले उक्त विषयमा सहमति गरेका हुन् । बाल विकास शिक्षालाई आधारभूत शिक्षामा समेटिएको हो । प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा ८ सम्मको विद्यालय शिक्षामा समावेश गरिएको हो ।
बाल विकास शिक्षा सार्वजनिक विद्यालयमा दुई वर्षभन्दा बढीको सञ्चालन गर्न नपाउनेगरी सहमति जुटेको हो ।
बाल विकास शिक्षाको विषयमा जुटेको सहमति
१. स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही बाल विकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछ ।
ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बाल विकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनर्वितरण गर्न सक्नेछ ।
२. स्रोतको सुनिश्चितता गरी नेपाल सरकारले तोकेको मितिदेखि लागू हुनेगरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बाल विकास तथा शिक्षालाई दुई वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्न सक्नेछ ।
३. कुनै पनि विद्यालयले पूर्वप्राथमिक शिक्षालाई २ वर्षभन्दा बढी अवधि हुने गरी सञ्चालन गर्न पाउनेछैन ।
४. हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद लाग्नेछैन ।
यसैबीच समितिले निजी विद्यालयको विषयमा पनि टुङ्गो लगाएको छ।
निजी विद्यालय सेवामुलक, लोककल्याणकारी र गैरनाफामुलक बनाएर जाने गरी सञ्चालन गर्ने विषय सर्वसम्मतिबाट पारित भएको छ ।
अब विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालन कम्पनी मार्फत वा गुठीमा जान सकिने व्यवस्था गर्न लागिएको छ ।
बैठकले गुठीमार्फत सञ्चालन हुने निजी विद्यालयको हकमा विभिन्न सहुलियत दिने प्रस्ताव पारित गरेको छ ।