काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार साँझ सार्वजनिक गर्यो । जसमा ६१.८१ प्रतिशत ग्रेडेड भए । जुन गत वर्षको ४७.८६ प्रतिशत भन्दा झण्डै १४ प्रतिशतले बढी हो ।
यस वर्षको नतिजा सकारात्मक देखिएको राष्ट्रिय परीक्षा बोर्ड र सरकार दुबैले दाबी गरेका छन् । यता अछामको चौरपाटी गाउँपालिकामा पनि एसईईको नतिजामा केही सुधार भएको देखिएको छ ।
गत वर्ष १६.१२ प्रतिशत विद्यार्थी पास भएकोमा यस वर्ष भने २७.७९ विद्यार्थी उत्तीर्ण भएका हुन् । जुन गत वर्षको भन्दा ११.६७ प्रतिशतले बढी हो ।
गाउँपालिकाको शिक्षा शाखाका अनुसार यस वर्ष परिक्षामा ३३६ जना विद्यार्थी सहभागी थिए । जसमा ९० जना ग्रेडेड (पास) भएका छन् ।
शिक्षा शाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैजनाथ माविबाट ५७ जनामा १३ जना पास, सिउँडी माविबाट ६९ जनामा २४ जना पास, दशपल्लेपानी माविबाट ७८ जनामा ६ जना पास, दयापिपलतोला माविबाट ३२ जनामा १५ जना पास, शान्ति माविबाट ३८ जनामा १९ जना पास, देविमाण्डौ माविबाट ३० जनामा ५ जना पास, गगुडा मावि १३ मा १ जना पास र शिरोमणी माविबाट १९ मा ५ जना पास भएका छन् ।
यस वर्ष शान्ति माविबाट एसईई दिएका दुई जनाले ३.६ देखि ४ जिपिए ल्याए । यस्तै १८ जनाले ३ं.२ देखि ३.६ जिपिए र ३६ जनाले २.८ देखि ३.२ जिपिए ल्याएको पालिकाको शिक्षा शाखाले जनाएको छ ।
सिउँडी माविको नतिजा सुधारियो
गत वर्षको एसईईमा एकजना मात्रै पास गर्न सफल सिउँडी माविले यस वर्ष भने २४ जना विद्यार्थी पास गर्न सफल भएको छ । परीक्षामा सामेल भएका ६९ जनामा २४ जनालाई पास गराउन सिउँडी मावि सफल भएको हो ।
५७ जनामा एकजना मात्रै 'सि प्लस' ग्रेडमा पास भएका थिए । अन्य सबै फेल भएका थिए । विद्यालयको नतिजाबारे अनलाइन नेपालले 'सिउँडी मावि निल हुनबाट बच्यो' भन्दै समाचार सार्वजनिक गरेको थियो ।
त्यसपछि विद्यालयमाथि टिकाटिप्पणी सुरु भएको थियो । विद्यालय व्यवस्थापन समिति र शिक्षकको आलोचना भएको थियो ।लगत्तै विद्यालय व्यस्थापन समितिले बैठक बोलाएर नतिजाको समिक्षा गरेको थियो भने पढाइबारे नयाँ रणनीति बनाएको थियो ।
अभिभावक, शिक्षक र व्यवस्थापन समितिको सक्रियताले यस वर्ष भने विद्यालयले ऐतिहासिक नतिजा हात पार्यो । सम्भवतः २४ जना विद्यार्थी यस विद्यालयबाट पास हुनु अहिलेसम्मकै बढी हो ।
गगुडा मावि बेहाल
गत वर्ष गगुडा माविले एसईईमा एकजना पनि विद्यार्थी पास गर्न सकेको थिएन । ९ जनामा सबै फेल भएका थिए । विद्यालय निल भएको थियो । तर यो वर्ष पनि उस्तै नतिजा ल्याएको छ ।
निल हुनबाट बचेको गगुडा माविले एकजना मात्रै विद्यार्थी पास गर्न सफल भयो । त्यहाँबाट चन्द्रकला साउँद २.५५ जिपिए ल्याएर पास भइन् । अन्य १२ जना फेल भए । गगुडा माविले किन गुणस्तर सुधार्न सकेन ? चासोको विषय बनेको छ ।
शिरोमणी माविले देखायो आश
गत वर्षबाट मात्रै मावि सञ्चालनको अनुमति पाएको शिरोमणीले पहिलो वर्षमै ५ जना विद्यार्थी पास गर्न सफल भएको छ । परीक्षामा १९ जना सामेल थिए । जसमा पाँचजना पास हुन सफल भए ।
सबैभन्दा बढी पुष्प साउँद ३.१६ जिपिए ल्याएर पास भए । यो नतिजा हेर्दा विद्यालयका शिक्षकहरु त्यति सन्तुष्ट छैनन् । तर पहिलो वर्षमै ५ जना विद्यार्थी पास गर्न सफल भएपछि विद्यालयको प्रशंसा हुन थालेको छ । आगामी वर्षहरुमा यस विद्यालयले राम्रो नतिजा ल्याउन सक्ने धेरैले आकलन गर्न थालेका छन् ।
दशपल्लेपानी माविको चाल उस्तै
गत वर्ष ८ जना विद्यार्थी पास गर्न सफल दशपल्लेपानी माविले यस वर्ष भने ६ जना मात्रै पास गर्न सफल भएको छ । गत वर्ष ६७ जनामा ८ जना विद्यार्थी पास भएका थिए ।
यस वर्ष ७८ जनामा ६ जना विद्यार्थी मात्रै पास भएका छन् भने ७३ जना फेल भए । पालिकाको शिक्षा शाखाको तथ्याङ्क अनुसार यस विद्यालयबाट पास हुने प्रतिशत ७.६९ हो । गत वर्षको भन्दा यो विद्यालय कम विद्यार्थी पास गर्न सफल भएको छ ।
यो विद्यालयको गत वर्ष र यस वर्षको नतिजा हेर्दा उस्ताउस्तै देखिएको छ । यद्यपि यस वर्ष २ जनाकम विद्यार्थी पास भएका छ । उक्त विद्यालयमा शिक्षाको गुणस्तर किन सुधार भएन ? उनै शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति जानुन् ।
पालिकाको शिक्षामा लगानी
गाउँपालिकाकाले शिक्षामा प्रत्येक वर्ष लगानी बढाउँदै गएको दाबी गर्ने गर्दछ । यद्यपि गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले सोचे अनुसार शिक्षामा गुणस्तर पाउन सकेका छैनन् ।
उनी शिक्षालाई नै पहिलो प्राथमिता राख्दै आएका छन् । गत वर्षको भन्दा एसईई परीक्षाको नतिजामा केही सुधार भएको देखिन्छ । तर पनि अझै शिक्षामा गुणस्तर आउन सकेको छैन ।
गाउँपालिकाकाले शिक्षामा गुणस्तर बढाउन विभिन्न विद्यालयमा स्वयमसेवक शिक्षकहरु पनि राखेको छ । तर गुणस्तर आउन नसकेकोमा सरोकारवाला निकायले चिन्ता व्यक्त गरिरहेका छन् ।