भक्तपुर । भक्तपुरको इँटाभट्टामा अभिभावकसँगै बसेर सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा गरेका छन्।
गंगाको बारेमा समाचार प्रकाशित भएपछि सांसद थापाले चासो व्यक्त गर्दै उनलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन्।
सांसद थापाले भनेका छन्–‘गोमाले चाहेको अवस्थामा उनलाई कक्षा ११ र १२ मा विद्यालयको शुल्क मात्र होइन, पोसाक र किताबसमेत निःशुल्क दिने घोषणा गर्दछु।’
यद्यपी सांसद थापाले गोमा भने अहिलेसम्म भेटेका छैनन् । सांसद थापाले गोमालाई भेटेर यसबारेमा कुराकानी गर्ने बताएका छन् ।
रामेछापको खनियाँपानी स्थायी घरभएकी गोमा चार वर्षको उमेरदेखि भक्तपुरको इँटाभट्टामा अभिभावकसँग बसेर चाँगुनारायण नगरपालिका– ८, सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आइरहेकी थिइन्। उनी एसइई परीक्षा २०८१ मा ४ जिपिएसहित उत्तीर्ण भएकी हुन्।
गोमाको चाहना भविष्यमा डाक्टर बन्ने रहेको छ। त्यसका लागि उनी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भई पठनपाठन गर्ने तयारीमा छिन्।
गोमालाई सांसद थापाले नासा कलेजमा छात्रवृत्ति दिने घोषणा गरेका हुन्। सांसद थापाले गोमालाई कक्षा १२ पछि पनि डाक्टर बन्न थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।