Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अलाम सफाइ प्रकरणबारे पीडित भारतीय नागरिक चमारले रुँदै भने – मलाई मार्छ, कसरी बाँचौं म यो दुनियाँमा

अलाम सफाइ प्रकरणबारे पीडित भारतीय नागरिक चमारले रुँदै भने – मलाई मार्छ, कसरी बाँचौं म यो दुनियाँमा

आइतवार , आषाढ २२, २०८२

काठमाडौं । रौतहटमा बम बिस्फोटमा परी घाइते भएका भारतीय नागरिक गौरीशंकर राम चमार काठमाडौं आएका छन्।

नेपाली कांग्रेसका नेता आफताब आलमलाई अदालतले सफाइ दिएपछि भारतको सीतामढीका उनी काठमाडौं आइपुगेका हुन् ।

रौतहटमा बम बिस्फोटप्रकरणसँग जोडिएको पीडित चमार पहिलोपटक सार्वजनिक भएका हुन् ।

उनी रौतहटमा २०६४ चैत २७ गते संविधान सभामा धाँधली गर्न आफताब आलमको घरमा राखिएको बम बिस्फोटमा घाइते भएका व्यक्ति हुन्।

४३ वर्षीय चमारले भारतबाट सो घटनाका विषयमा बयान दिन काठमाडौं आएको बताएका छन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले घटनाबारे सबै बेलिबिस्तार लगाएका हुन् ।

चमार तिनै व्यक्ति हुन्, जो आलमले रौतहटको राजपुर फरहदवामा चलाएको राजा इँटाभट्टामा काम गर्थे । बम विस्फोटको दिन त्यो दिन उनी पैसा लिन घरमा गएका थिए ।

उनले भनाइअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो । त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए । बमले दुवै कान उडाइदियो । अनुहार, घाँटी र छातीमा गम्भीर चोट लाग्यो ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहित चार जनालाई जेठ १४ गते सफाइ दिएको थियो। सफाइ दिँदा न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले बिस्फोट नै भएको हो वा होइन भन्ने आधार नदेखिएको भन्दै फैसला गरेको थियो।

तर, चमार बम बिस्फोटमा परी घाइते भएका पीडित हुन् ।

उनले आइतबार पत्रकार सम्मेलनमा भने–‘त्यो दिन पैसा लिन घरमा गएको थिएँ। एक जनाले पैसा लिएर गइहाल भन्यो। तर ढोकामा मात्रै पुगेको थिएँ। बम पड्कियो। आगो लागेपछि म भागेँ। घर पछाडि पानी थियो मैले पानी हालेर फेरि भागेँ।’

त्यसपछि के भएको भनेर आफूलाई थाहा नभएको पनि उनले बताए। पछि भारतकै सीतामढीमा रहेको अस्पतालमा उपचार गराएको र साढे ३ लाख भारतीय रूपैयाँ खर्च भएको पनि उनले जानकारी दिए।

उनले आफूले प्रहरी कार्यालयमा बयान दिन जाँदा आलमका मान्छेहरूले आफ्नी आमालाई समेत धम्क्याएको बताएका छन्।

उक्त घटनामा पीडित चमारले पनि जाहेरी दिएका थिए। तर उच्च अदालतले उनको जाहेरी र बयानलाई नै प्रमाणको रूपमा अस्वीकार गरेको छ।

अदालतले उनले उपचार गरेको अस्पतालको कागजातको प्रेस्क्रिप्सनमा स्टोभ पड्केर घाउ खत लागेको भन्ने देखिएको हुँदा बम बिस्फोटको खत रहेको झुटा ठहर गरेको हो।

उनले भने बम बिस्फोटबाट घाइते भएपछि आफूलाई काम पाउन पनि गाह्रो भएको बताए।

‘काम पाउन पनि गाह्रो छ। कतै काम पाइहालेँ भनेपनि सात÷आठ दिनमै यहाँबाट पैसा लिएर गइहाल भन्छन्,’ उनले भने।

उनले उक्त घटनामा आफताब आलमले सफाइ पाएको पछि मात्रै थाहा पाएको बताए।

चमारको भनाइका सम्पादित अंशः
म रौतहटको राजा इँटाभट्टामा काम गर्दै थिए । हप्ताको दिन थियो । पैसा लिन मलाई बोलाएर लिएर गयो । हामी तीन जना थियौं । मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाउ । घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ ।

घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ । त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो ? एकैचोटी मेरो आँखा खुल्यो सीतामढीमा । आँखा खुलेपछि मैले आमालाई सोधे- कहाँ हो यो ? आमाले भन्नुभयो- यो सितामढी हो, म तिमीलाई अस्पताल लिएर गइरखेको छु । केही चिन्ता नगर, ठीक हुन्छ तिमीलाई ।

त्यसपछि मेरो आँखा फेरि बन्द भयो । मेरो इलाज (उपचार) तीन महिनाजति भयो । मलाई साढे ३ लाख आईसी .(भारतीय रुपैयाँ) खर्च भयो । अफ्ताबले एकचोटी पनि सोधेन- मान्छे कस्तो छ, के छ ? एक रुपैया पनि दिएन । सोधेको पनि छैन । आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्‍यो ।

निर्वाचनको एक दिन पहिला बेलुकातिर बम बिष्फोट भएको थियो । अफताब आलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए मलाई थाहा भएन ।

दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन । होस् भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने ।

त्यहाँ बम बिष्फोट भएको छ, मलाई बम लागेको छ । अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु । मलाई त्यसैमा बम लागेको छ । अरु मान्छे चाहिँ कति मर्यो मलाई थाहा भएन । इलेक्सनको एक दिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विष्फोट गराएको त मैले भन्न सक्दिनँ । तर, उसैको घरमा भएको छ ।

सुरुसुरुमा एसपी कार्यालय (प्रहरी चौकी) मा मैले बयान दिँदा मेरो घरमा गएको थियो । म घरमा नहुँदाखेरी त्यसको आद्मी (मान्छे) गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मर्यो) अब । तिम्रो छोरा दुई-चार साल बितेपछि बाँच्दैन । अफ्ताब आलमको मान्छे गएर भनेको छ । मलाइ धम्की दिएको छ ।

अफ्ताब आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याकेर हामी पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ । (रुदैँ) कसरी बाँचौं म यो दुनियाँमा ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077