काठमाडौं । सशस्त्र प्रहरीमा लामो टकरावपछि गत महिना एआईजीमा बढुवा भयो । तर, डीआईजी पदमा फेरि रोकिएको छ ।
डीआईजी गणेश ठाडा मगरको एआईजीमा बढुवा भएसँगै रिक्त भएको डीआईजी पदमा बढुवाका लागि कुरा नमिल्दा प्रक्रिया रोकिएको छ ।
वरिष्ठताका आधारमा कृष्णराज पाठक र मनिष थापा बढुवाका दाबेदार हुन् । पाठक नेपाल प्रहरीबाट स्थानान्तरण भएका अधिकृत हुन् भने थापा सिंस १ का अधिकृत हुन् ।
सिंस २ का दुई जना गत फागुनमा डीआईजी भइसकेका छन् । दिपेन्द्र कुँवर र विष्णु भट्टलाई गत माघमा बढुवा गर्दा थापालाई छुटाइएको थियो। राजनीतिक लबिइङ नभएका र बिन्दास शैलीका थापा यसपटक पनि छुट्ने जोखिम बढेको छ ।
सिंस नम्बर २ कै अधिकृतहरु अहिले डीआईजी बढुवामा लागेपछि विवाद भएको हो । राजनीतिक रुपमा सिंस २ का अधिकृतहरु शक्तिशाली छन् ।
सोही कारण सशस्त्र प्रहरी मुख्यालयले बढुवा प्रक्रिया अघि बढाउन सकेको छैन । डीआईजी बढुवा रोकिदा तल्लो तहको बढुवा समेत प्रभावित बनेको छ।