वीरगन्ज । मुस्लिम समुदायको पर्व मोहरमका अवसरमा आइतबार वीरगन्जमा निकालिएको ताजिया (दाहा) र्यालीका क्रममा एक गाडीले सुरक्षाकर्मीमाथि नै गाडी चढाउने प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।
ना ४ च ८८३४ नम्बरको डिजेसहितको पिकअप गाडीले प्रहरीको रोकेको अवज्ञा गर्दै सिधै सुरक्षाकर्मीमाथि गाडी हाँक्न खोजेको दृश्य देखिएको हो ।
सशस्त्र प्रहरीले गाडी रोके पनि चालकले जबरजस्ती सुरक्षाकर्मीहरूलाई किच्ने शैलीमा गाडी अघि बढाएपछि प्रहरीहरूले ज्यान जोगाउँदै बाटो छाडेका थिए ।
र्याली तोकिएको पुरानो बसपार्कको खाली जग्गा जानु पर्नेमा आयोजकहरू रुट परिवर्तन गर्दै आदर्शनगर रंगशालातर्फ अघि बढ्न खोजेपछि स्थिति जटिल भएको हो । रंगशालामा जबरजस्ती गाडी छिराउन खोजिएपछि प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज गरेका थिए ।
घटनापछि ताजिया र्यालीमा सहभागीहरू तितरबितर भए भने प्रहरीले गाडी नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान थालेको छ । मोहरमको र्यालीलाई सुरक्षित बनाउन ७५० भन्दा बढी नेपाल प्रहरी र उत्तिकै संख्यामा सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।