काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको घुस डिल प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल भएको विषय आजको राष्ट्रिय सभाको बैठकमा उठेको हो ।
सर्भर डाउनको बाहनामा अनलाइन सिस्टमलाई बन्द गराइ नवीकरण गर्दा र कम्पनी दर्ता गर्दासमेत प्रतिशत तोकेर रकम असुल गर्ने गरेको समाचार आएको भन्दै उनले यो विषय गम्भीर रहेको बताए ।
उनले भने–‘कम्पनी दर्ता गर्दा घुस खुवाउनुपर्ने भएपछि जनताले किन र कसरी व्यवसाय गर्छन, कसरी लगानीको वातावरण बन्छ र युवा किन देशमा बस्छन ?’
घुस प्रकरणबारे छानबिन गर्न माग गर्दै उनले भने–‘म तुरुन्त छानबिन र कारबाहीको लागि सम्माननीय अध्यक्षज्युमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’