Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यान्सरसम्बन्धी औषधि अब निःशुल्क

क्यान्सरसम्बन्धी औषधि अब निःशुल्क

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताएका छन् ।

अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसानुसार पहिलो चरणको औषधि नेपाल ल्याइएको उनको भनाइ छ ।

मन्त्री पौडेलले यसअघि त्यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका थिए ।

डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका निम्ति आयोजित कार्यक्रममा मन्त्री पौडेलले औषधि अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको बाध्यता हटाउन लामो मिहिनेतपछि सफलता प्राप्त भएको बताएका उनको सचिवालयले जनाएको छ ।

नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका निम्ति विदेश जानुपर्ने बाध्यता छ ।

डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सरको उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा औषधि नेपालको आवश्यकताअनुसार पाँच वर्षसम्म सहयोगस्वरूप उपलब्ध गराउने मन्त्री पौडेलले जानकारी दिए ।

उनले भने–‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ । राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौँ ।’

हाल ३७ प्रकारका औषधि क्रमैसँग प्राप्त हुनेछ । अरू आवश्यक औषधि समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने उनको भनाइ छ ।

मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधि पठाउने व्यवस्था मिलाइएको बताए ।

मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले पाँच वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधि प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिए ।

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्री भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र काठमाडौंको वीर अस्पताललाई हस्तान्तरण गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077