काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्वमै सबैभन्दा पुरानो चिकित्सा अभ्यास रहेको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले एलोपेथिक चिकित्सा विज्ञान सम्बन्धी चिकित्सा ज्ञानका प्रादुर्भावकर्ता हिप्पोक्रेटस २४ सय वर्ष अगाडिका रहेको तर, नेपालमा ३ हजार वर्ष अगाडि नै सर्जरीको विकास भइसकेको बताए ।
सोमबार त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवा भवन उद्घाटन समारोहमा बोल्दै उनले भने–‘मैले धेरै ठाउँमा भन्ने गरेको छु हाम्रो चिकित्सा विज्ञान शास्त्र र ज्ञान र अभ्यासको विश्वमा सबैभन्दा पुरानो इतिहास यहाँ छ । यस भूभागमा छ ।’
विश्वामित्रका छोरा ऋषि सुश्रुतले सर्जरी गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने–‘तीन हजार वर्षभन्दा अगाडि चतरामा विश्वामित्रका छोरा ऋषि सुश्रुतले सर्जरी सिकेका थिए, सर्जरी गरेका थिए । खेल्दाखेल्दै एउटा साथीको औंलो काटिएर छुट्टिएपछि उनले औंलो ल्याएर जोडेका थिए । त्यहाँबाट शल्यक्रियाको दृष्टान्त पाइन्छ ।’
हिप्पोक्रेटसभन्दा अगाडि चरक र अरू ऋषिमुनिहरूले चिकित्सा विज्ञानको नेपालमा विकास गरेको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले भने–‘त्रेतायुगमा लक्ष्मण बेहोस हुँदा हनुमानले जडिबुटी खोजेर ल्याएर खुवाएका थिए । चार हजार वर्षभन्दा अगाडिको समयलाई त्रेतायुग भनिन्छ । त्यो समयमा पनि यहाँ स्वास्थ्य विज्ञानको, स्वास्थ्य अभ्यासको व्यवस्था विकास भएको थियो । त्यसपछि यहाँ धेरै यस्ता विधाहरू विकास भए । उसबेला अहिलेको जस्तो प्रोफेसरलाई ऋषिमुनि भन्ने चलन थियो । त्यसरी चिकित्सा विज्ञानको आदिम र उद्गम स्थल यस ठाउँमा अहिले हामी पछाडि परिरहेका छौं ।’
प्रधानमन्त्री ओलीका अनुसार नेपालमा जनसंख्या कम भएकोले सुश्रुतले वनारस गएर शल्यक्रिया राम्ररी अगाडि बढाएका थिए । उनले भने–‘जहाँको भए पनि मानव जातिको सेवा गरे ।’