टोकियो । जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले देखाएको छ । यसले यो सप्ताहान्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब सिर्जना गरेको छ ।
इशिबाको प्रशासनको सार्वजनिक समर्थन गतवर्ष पदभार सम्हालेदेखि सबैभन्दा तल्लो स्तरमा खसेको छ । यसको आंशिक कारण जीवनयापनको लागतलाई लिएर भएको निराशा हो ।
निराशाको एउटा मुख्य स्रोत मुद्रास्फीति र विशेष गरी चामलको बढ्दो मूल्यका साथै सत्ताधारी दलभित्रका घोटालाहरू छन् । चामलको मूल्य पहिले नै मे महिनामा एक सय एक प्रतिशतले बढेको थियो । यो अप्रिलमा ९८ दशमलव चार प्रतिशत र मार्चमा ९२ दशमलव पाँच प्रतिशतभन्दा बढी बढेको थियो ।
समग्रमा जापानको मूल मुद्रास्फीति दर गत महिना मेको तीन दशमलव सात प्रतिशतबाट घटेर तीन दशमलव तीन प्रतिशत भएको गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
अस्थिर ताजा खाद्यान्न मूल्यहरूलाई नहेर्ने यो अध्ययन बजारको तीन दशमलव चार प्रतिशतको अपेक्षाभन्दा थोरै कम थियो । ऊर्जा र ताजा खानाबाहेक उपभोक्ता मूल्य तीन दशमलव चार प्रतिशतले बढेको छ । यो मे महिनामा तीन दशमलव तीन प्रतिशत थियो ।
आइतबारको निर्वाचनअघि गरिएको जनमत सर्वेक्षणले माथिल्लो सदनमा सत्तारूढ गठबन्धनले आफ्नो बहुमत गुमाउन सक्ने सङ्केत गरेको छ । यसले इशिबालाई एक वर्षभन्दा कम समयमा राजीनामा दिन बाध्य पार्न सक्छ ।