काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामहरू एकै रातमा सम्पन्न नहुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले विकासको प्रक्रिया धीमे तर दिगो हुने भएकाले धैर्यता र सकारात्मक सोच आवश्यक रहेको बताएका हुन् ।
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले पर्वतको कुश्मामा निर्माणाधीन रेलवे स्टेशनबारे प्रश्न उठाउँदै त्यहाँका जनताहरू वर्षौँदेखि प्रतीक्षामा रहेको उल्लेख गरेका थिए ।
त्यसको जवाफमा प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, “रेलवे स्टेशन बेलुका भनेर विहान बन्ने हो र ? यो त स्वस्थानीको कथामा शिवजीले पार्वतीलाई देखाएको महल हो र ?”
प्रधानमन्त्री ओलीले नेपालमा रेल ल्याउन नसकिने भनेर आलोचना गर्नेहरू अहिले त्यसैको जस लिने गरेको आरोप पनि लगाए।
“जनकपुरमा रेल चलाउँछु भन्दा अनेक व्यंग्य गरियो,” उनले सम्झिए, “तर पछि उही मानिसहरू त्यसको श्रेय लिन तछाडमछाड गर्न थाले।”
उनका अनुसार रेल ल्याउन, पटरी बिछ्याउन, रेल खरिद गर्न र सञ्चालनसम्म पुर्याउन ठूलो परिश्रम र समय लाग्ने प्रक्रिया थियो, जुन सरकारले पूरा गरेको हो।