काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनुवाइ तथा समाधानका लागि गुनासो व्यवस्थापन इकाइ स्थापना गर्ने भएको छ ।
मन्त्रीस्तरको निर्णयअनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा गुनासा सम्बोधन गर्न क्षमता विकास महाशाखाअन्तर्गतको सुशासन शाखाले गुनासो व्यवस्थापन इकाइको रूपमा समेत कार्य गर्ने जनाइएको छ।
एक प्रभावकारी संयन्त्रको रूपमा गुनासो व्यवस्थापन कार्य गर्न उक्त शाखाको प्रमुखलाई गुनासो सहजकर्ता तोक्ने र निजलाई सहयोग गर्न मन्त्रालय वा अन्य मन्त्रालय तथा निकायमा फाजिलमा रहेका कर्मचारीमध्येबाट अतिरिक्त समूहमा दरबन्दी राखी कामकाज गर्ने गरी एक जना शाखा अधिकृत र दुई जना कम्प्युटर सीपमा दखल भएका नायब सुब्बा वा कम्प्युटर अपरेटरलाई जिम्मेवारी दिइने मन्त्रालयले जनाएको छ।
सेवाग्राहीले विभिन्न सञ्चार साधन वा आफैँ उपस्थित भई लिखित वा मौखिक गुनासो गर्ने वा पत्राचार गरी गुनासो पठाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।