काठमाडौं। पूर्वराष्ट्रपति एवं नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले कार्यकर्तालाई पार्टी एकता र संगठन सुदृढीकरणमा अझ क्रियाशील हुन आह्वान गरेकी छन् ।
उनले पार्टी निर्माणमा निरन्तर लागिरहने संकेत दिंदै आफूलाई संविधान र कानुनले राजनीतिक सक्रियताबाट रोक्न नसक्ने स्पष्ट पारिन् ।
एक सार्वजनिक कार्यक्रममा बोल्दै भण्डारीले पछिल्लो समय पार्टीसम्बन्धी निर्णयहरू कार्यकर्ताहरू, सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत मात्रै थाहा पाइरहेकोप्रति संकेत गर्दै पारदर्शिता र संवादको खाँचो औंल्याइन् ।
'पार्टीका निर्णयहरू म सञ्चार माध्यमबाट थाहा पाउँछु। तर, मेरो निर्णयबाट म कहिल्यै विचलित हुनेछैन,' उनले भनिन् ।
उनले कार्यकर्तालाई आन्तरिक एकता र विश्वासमा आधारित संगठन निर्माणमा समर्पित हुन आग्रह गर्दै पार्टीको मूल विचार, सिद्धान्त र मूल्यमा दृढ रहनुपर्ने आवश्यकता पनि बताइन् ।