काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको नाममा देशभरि गुट चलाइएको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले पार्टी दसौं राष्ट्रिय महाधिवेशनपछि अहिले इतिहासकै सबैभन्दा बढी गुटबन्दी अल्झिएको बताएका हुन्।
उनले फेसबकुमा लेखेका छन्–यस अवधिमा मूल नेतृत्व र पार्टी नीतिमा कही पनि मतभेद छैन तर पार्टी अध्यक्ष र महासचिवको नाम लिदै उहाँले यस्तो भन्नु भएको छ उस्तो भन्नु भएको छ भनेर तलतलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको छ। पार्टी कार्यालयमै बसेर देशभरी गुटलाई प्रश्रय दिने काम भएको छ ।’
उनले केही सिमित मानिसहरु पार्टीका आधिकारिक व्यक्ति बन्ने र अरुलाई दोश्रो दर्जाको सदस्यको रुपमा व्यवहार गर्ने गलत प्रवृत्ति पार्टीमा हाबी भएको पनि बताए।
उनले जनताको बहुदलीय जनवाद र आन्तरिक लोकतान्त्रिकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाइए पनि पार्टी भित्र त्यस प्रकारको व्यवहार नभएको पनि बताएका छन्।
‘विश्व कम्युनिष्ट आन्दोलनमा पार्टी भनेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटी भनेको महासचिव वा अध्यक्ष, पार्टी निर्णय भनेको केही निश्चित व्यक्तिहरु बसेर गरेको सल्ल्लाहा र त्यसलाई औपचारिकता दिन कमिटीका बैठक भन्ने गलत अभ्यासलाई जनताको बहुदलिय जनवादले सच्यायो। पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाउने महत्वपूर्ण उपलव्धी नेपालको कम्युनिष्ट आन्दोलनले प्राप्त गर्यो। त्यस बमोजिमको व्यवहार हुन सकिरहेको छैन। हामी खासखास समयमा चुकिरहेका छौ। एमालेलाई निर्णायक राष्टिय शक्ति बनाउनको लागि गुटबन्दी अन्त्य गरिनु पर्दछ,’ उनले लेखेका छन्।
घण्टा घण्टामै फेसबुकमा स्टाटस लेख्दै उनले दुई कार्यकाल र ७० वर्षको उमेर हदका मुद्धामा स्वस्थ्य छलफल गर्न माग गरेका छन् । त्यसपछिको स्टाटसमा उनले भनेका छन्–‘पार्टी नेतृत्वमा पुगेपछि सिंगो पार्टी नभनेर सस्थापन भन्ने र आफ्ना अन्धसमर्थक र पक्षहरुको हितको निम्ति काम गर्ने, अलिकति असहमति वा फरक विचार राख्ने चिन्तनशिल र सिर्जनशिल साथीहरुलाई शत्रु ठान्ने, भजन सुन्न मन पराउने, आलोचना सुन्न परे कान टक्टक्याउने र भजनमण्डलीलाई स्थान दिन खोज्ने संकिर्णताले पार्टी जीवनलाई अस्वस्थ्य बनाउने भएकाले त्यस्ता तरिकाहरुलाई हटाउनु र स्वस्थ लोकतान्त्रिक विधि र व्यवहार अपनाउनु आवश्यक छ ।’
यसको एक घण्टा पछि पनि उनले अर्को स्टाटस लेख्दै गाली गरेका भरमा पद पाईदैन कि भन्ने डरले सत्य छोड्न त सकिदैन है भन्दै आक्रोश पोखेका छन् ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको जवज र पार्टी जीवनको लोकतान्त्रीकरण नामक पुस्तकको फोटोसहित उनले ‘यस पुस्तकलाई सकेजति गहिरिएर पढ्नु’ भन्दै स्टाटस लेखेका छन् ।