रुपन्देही । बुटवल उपमहानगरपालिका–१५ कर्साघाटमा संघीय सरकारको विशेष आयोजनामा निर्माण हुन लागेको कृषि उपज केन्द्रबारे जानकारी लिन आइपुगेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय युवाहरुसँग क्रिकेट खेल्न भ्याएका छन् ।
शुक्रबारदेखि गृहजिल्ला रुपन्देहीमा रहेका उनी आज कृषि उपक केन्द्रका जानकारी लिने उद्देश्यले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तहका नेताहरु तथा सो क्षेत्र वरिपरि रहेका कार्यकर्ता र केही स्थानीयसमेत उनी त्यहाँ पुगेका थिए ।
तर, उक्त आयोजना नजिकै स्थानीय युवाहरू क्रिकेट खेलिरहेको देखेपछि अर्थमन्त्री पौडेल खेल मैदान प्रवेश गरेका थिए । मन्त्री पौडेलले मैदान प्रवेश गरे लगत्तै सिधै ब्याट समाए र प्रदेशका पूर्व मन्त्री तथा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठलाई मैदानमा पठाए ।
नेता श्रेष्ठले गरेको बलिङमा रन लिन नसकेका पौडेलले उल्टै बलिङ कमजोर भयो भन्दै एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई बलिङका लागि आग्रह गरे ।
नेता भट्टराईको दोस्रो बलमा मन्त्री पौडेलले चौका प्रहार गरे । त्यसपछि उनले त्यहाँ रहेका स्थानीय खेलाडीहरुसमक्ष केही समय अन्तरक्रिया गरे । खेलाडीहरूले मन्त्री पौडेलसमक्ष खेलमैदान बनाउन माग गरे ।
पौडेलले कृषि उपज केन्द्र नेपालको नमुना आयोजना भएकाले यसलाई निर्माणका लागि सघाउन र नजिकै रहेको अर्को स्थानमा क्रिकेट स्टेडियम बनाउन आफूले पहल गर्ने र बजेटको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
नेकपा एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका मन्त्री पौडेल दर्जनभन्दा बढी कार्यक्रममा सहभागी जनाउन जिल्ला पुगेका छन् । अर्थमन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्रसँगै जिल्लाका अन्य क्षेत्रमा समेत केही कार्यक्रमलाई प्राथमिकता दिएर पुगेका छन् ।
रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको तयारी भइरहेकाले पनि नेता पौडेलले रुपन्देहीका विभिन्न आयोजनाको स्थलगत अवलोकनका लागि समय निर्धारण गरेको बताएका छन् ।