काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बोआओ फोरममा जलवायु परिवर्तन, डिजिटल स्वास्थ्य र नेपालका स्वास्थ्य प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका छन् ।
बोआओ फोरमअन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका मन्त्री पौडेलले सो बारे जानकारी गराएका हुन् ।
उनका अनुसार, स्वास्थ्य क्षेत्रलाई जलवायु परिवर्तनबाट जोगाउन अन्तर्राष्ट्रिय स्तरमा भइरहेका पहलहरूमा नेपालले चासो दिइरहेको छ । साथै, डिजिटल स्वास्थ्य प्रणालीमार्फत नागरिकको स्वास्थ्यमा पहुँच र गुणस्तर दुबै सुधार गर्ने रणनीतिबारे पनि मन्त्री पौडेलले फोरममा धारणा राखेका थिए ।
'नेपालले डिजिटल स्वास्थ्यको रूपान्तरणमा उल्लेखनीय पहल गरिरहेको छ,' मन्त्री पौडेलले भने, 'यसले दुर्गम क्षेत्रका नागरिकलाई समेत गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने लक्ष्य लिएको छ।'
फोरमको अवसरमा मन्त्री पौडेलले चिनियाँ राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (एनडीसीपीए) का निर्देशक शेन होङबिनसँग विशेष भेटवार्ता गरेका थिए ।
भेटका क्रममा हेटौंडास्थित भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोग, सरकारी अस्पतालहरूमा न्यूरो उपचार केन्द्र स्थापना, र समग्र द्विपक्षीय स्वास्थ्य सहकार्यका विषयमा सकारात्मक छलफल भएको जानकारी उनले दिएका छन् ।
यसैबीच, बेइजिङस्थित नेपाली समुदायसँगको अन्तरक्रियामा मन्त्री पौडेलले चीनमा अध्ययन र अनुभव आर्जन गरिरहेका नेपालीहरूलाई नेपाल फर्किएर स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा योगदान गर्न आह्वान गरेका थिए । चीनको राजधानी बेइजिङबाट उनी नेपाल फर्किसकेका छन् ।