काठमाडौं । नेकपा एमालेका सचिव एवम् सांसद योगेश भट्टराईले संसदमा निजामती विधेयक ल्याउँदा कुलिङ अफ पिरियडमा तलमाथि गरिएकाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि नै छानबिन गर्नुपर्ने बताएका छन् ।
प्रचण्डले ‘कुलिङ पिरियड’मा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत छानबिन गर्नुपर्ने शनिबार बताएका थिए । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले प्रचण्डमाथि नै नैतिक प्रश्न सिर्जना हुने जिकिर गरेका हुन् ।
सांसद भट्टराईले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले संसदमा पेश गरेको व्यवस्थामा कुलिङ पिरियड व्यवस्था नगरेकाले त्यसको पक्षमा प्रचण्ड नभएको देखिएको बताए ।
एमाले कुलिङ अफ पिरियडको पक्षमा रहेको बताउँदै सांसद भट्टराईले उक्त व्यवस्थाका बारेमा प्रधानमन्त्री केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने भनेर प्रचण्डले शनिबार दिएको मन्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । ‘तपाईंले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रधानमन्त्री केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने भनेर मन्तव्य दिनु भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।’ भट्टराईले भनेका छन्,‘हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नुपर्छ भन्ने पक्षमा छौं र यो विषयको संशोधन हामीले (सांसदहरू) नै राखेका हौं। आज पनि हामी यो अड़ानमा कायम छौँ।’
भट्टराईले निजामती विधेयकमा सांसदहरूको संशोधन प्रस्तावपछि मात्र यो विषयको बहस शुरु भएको तथ्यका बारेमा हेक्का राख्न प्रचण्डलाई चेतावनी दिए ।
राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम् सदस्य प्रचण्ड पनि भएको बताउँदै उनले समितिको प्रतिवेदन संसदमा पेश गर्दा यो व्यवस्थालाई तलमाथि किन गरिएको तपाईंमाथि पनि नैतिक प्रश्न उठ्छ, होइन भन्दै प्रश्न गरेका छन्। उनले प्रचण्डलाई आफ्नै बोली आफैँलाई गलापासो भन्दै चेतावनी दिए ।