काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता (एआई) केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताए ।
'आजको युग विज्ञान र प्रविधिको युग हो, एआई अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ', सभापति देउवाले भने ।
उनले घर(घरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा जस्ता सबै प्रविधिमैत्री योजनाले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेको उल्लेख गरे ।