धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालले बहुप्रतीक्षित प्रादेशिक सडक सञ्जाल गुरुयोजना स्वीकृत हुनु प्रमुख उपलब्धि भएको बताएका छन् ।
सोमबार मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पालले यस्तो बताएका हुन् ।
उनले बहुप्रतीक्षित प्रादेशिक सडक सञ्जाल गुरुयोजना स्वीकृत हुनु मन्त्रालयको मात्र नभई प्रदेश सरकारले गौरव गर्नुपर्ने कुरा भएको बताए । साथै उनले प्रदेशको दिगो विकास र जनजीविकाको स्तर उकास्न वर्तमान क्षणबाटै मार्गचित्रसहित काम सुरु गर्न प्रदेशका कर्मचारीहरूलाई निर्देशन दिए ।
मन्त्री पालले भने, “विभिन्न समस्या र चुनौतीकाबीच पनि गत वर्ष तपाईंहरू सबैको समर्पणका कारण मन्त्रालयले लक्ष्यअनुसारको प्रगति गर्न सफल भयो। आगामी वर्षमा अझै प्रभावकारी र उल्लेख्य नतिजा ल्याउन सुरुदेखि नै मार्गचित्र बनाएर अघि बढ्न आवश्यक छ।”
उनले “समृद्ध सुदूरपश्चिम, सुखी सुदूरपश्चिमबासी” भन्ने अभियानलाई मूर्त रूप दिन समग्र भौतिक पूर्वाधारको विकासलाई केन्द्रमा राखेर योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।
गोष्ठीमा मन्त्री पालसहित राज्यमन्त्री निर्मलादेवी साउँदसहित भौतिक पूर्वाधार विकास मन्त्रालय तथा मातहतका ३० कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा गत आर्थिक वर्षमा सम्पन्न योजनाहरूको भौतिक र वित्तीय प्रगति, सेवा प्रवाहमा देखिएका समस्या, चुनौती र सुधारका उपायबारे विस्तृत छलफल भएको थियो।
भर्खरै सम्पन्न आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले कुल ७० प्रतिशत बजेट खर्च गरेको बताइएको छ । यो प्रगति प्रदेश सरकारको कार्यक्षमताप्रति सकारात्मक सन्देश दिने खालको रहेको सहभागी कर्मचारीहरूको धारणा थियो ।