काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने थुनामा परेको विषयमा सरकारलाई जोड्न नहुने बताएका छन् ।
मंगलबार कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले अदालतले गर्ने निर्णयमा रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको पनि कटाक्ष गरे ।
उनी थुनामा पर्नुमा कुनै राजनीतिक प्रतिशोध नभई लामिछानेकै कर्मको फल भएको बताए ।
‘विभिन्न प्रकारका अपराध गर्यो अनि सरकारलाई गाली गर्यो । सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्नु ! गर्ने बेलामा नचाहिने काम गर्ने, अनि पछि लौ प्रतिशोध ! के को प्रतिशोध ?’, उनले भने ।
उनले रविमाथि राजनीतिक प्रतिशोध भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानमा तीन करोडभन्दा बढी पुग्ला भनेर समेत कटाक्ष गरे ।