हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि आफूले पदबाट राजीनामा नदिने घोषणा गरेका छन् ।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार र संसदीय दल दुई फरक संरचना भएको उल्लेख गर्दै दलभित्रको अविश्वास सरकारमा लागू नहुने बताएका हुन् । “म संसदीय दलको नेता नहुन सक्छु, तर गठबन्धन दलहरूको समर्थन रहेकाले सरकारमा बहुमत कायम छ,” उनले भने, “त्यसैले मेरो राजीनामा अनिवार्य छैन।”
मुख्यमन्त्री लामाले संविधानको मर्म अनुसार सरकारमा बहुमत कायम रहेको अवस्थामा आफूले पद नछाड्ने स्पष्ट पारे। उनले सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूको समर्थनलाई सरकार सञ्चालनको वैध आधारका रूपमा प्रस्तुत गरे।
यसअघि साउन ९ गते मुख्यमन्त्री लामाविरुद्ध कांग्रेस संसदीय दलभित्र अविश्वासको प्रस्ताव दर्ता भएको थियो। दलका सचिव कृष्ण तामाङका अनुसार २१ जना प्रदेश सांसदले लामालाई हटाएर नयाँ नेताको रूपमा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँलाई अगाडि सारेका थिए ।