हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि आज निर्वाचन हुँदैछ । पदमुक्त भएका पूर्वनेता बहादुर सिंह लामाको स्थानमा नयाँ नेता चयन गर्न निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।
निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचनको सम्पूर्ण प्रक्रिया आजै सम्पन्न गरिने गरी कार्यतालिका तय गरिएको छ । बिहान ८ः०० बजे मतदाता नामावली प्रकाशनसँगै प्रक्रिया सुरु हुनेछ ।
त्यसपछिका सबै चरण—दाबी–विरोध, अन्तिम नामावली प्रकाशन, उम्मेदवारी दर्ता, नाम फिर्ता—समेत आजै तोकिएको समयमै सम्पन्न गरिनेछ ।
दिउँसो २ः०० बजे मतदान सुरु भई ३ः०० बजेभित्र सम्पन्न हुने जनाएको छ। मतदान नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको हेटौंडास्थित कार्यालय परिसरमा हुनेछ ।
मतदातालाई प्रदेश सभा सचिवालयद्वारा जारी परिचयपत्र वा अन्य वैध प्रमाणपत्र अनिवार्यरूपमा साथमा ल्याउन आग्रह गरिएको छ।