विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नआउन सुझाव दिएका छन् ।
राष्ट्रपति भइसकेको व्यक्तिलाई पुनः राजनीतिमा सक्रिय नहुँदा राम्रो हुने भन्दै उनले आफूले पूर्वराष्ट्रपति भण्डारीलाई भेटेको बारेमा पनि जानकारी गराए ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने–‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिहरू फर्कने कुरा संविधानले त जे गरेपनि हुन्छ भनेर दिएको छ । मलाई सोध्नुहुन्छ भने नफर्केको राम्रो । तर फर्कन त कसले रोक्न सक्छ र ?’
कुराकानीका क्रममा उनले लुकेर कसैले भेट नगर्ने भन्दै भण्डारीसँगको भेटवार्ताबारे मुख खोलेका हुन् । उनले आफू राजनीतिमा सक्रिय भएको व्यक्ति भएकाले राष्ट्रपति लगायतका विशिष्ट अधिकारीसँग बेला बेला भेट भइरहेने बताए । सोही प्रक्रिया अन्तर्गत पूर्वराष्ट्रपति भण्डारीसँग पनि भेटवार्ता गरेको उनको भनाइ थियो ।
डा. कोइरालाले भने–‘हामी राजनीति गर्दैछौं । हामीहरूले विभिन्न भेट गरिरहनुपर्छ । म प्रतिप्रश्न गर्छु नेपाली कांग्रेस र माओवादी जब सरकारमा थियो त्यतिबेला मैले ओलीजीलाई भेटिरहेको थिएँ । त्यतिबेला कहिल्यै प्रश्न गर्नुभएन । त्यतिबेला पनि छलफल गरेको हो । त्यस्तै छलफल अहिले पनि राजनीतिक दल र नेताहरूबीच भएको हो । लुकेर कसैले भेट गर्छन् होला तर म त्यसमा विश्वास गर्दिनँ । राष्ट्रपति हुँदा पनि भेटेको थिएँ । राष्ट्रपति छाडेपछि पनि निवासमै गएर भेटेको थिएँ । यो पनि त्यस्तै भेट मात्रै हो ।’
संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयबाट फर्कनु लोकतन्त्रका लागि खतरनाक भएको बताएका उनले भने–‘राष्ट्रपतिज्यूले एउटा ऐनलाई फेरि संसदमा फर्काउनुभयो । यो गम्भीर विषय हो । संवैधानिक परिषद्मा ६ जना वरिष्ठ व्यक्तिहरू त्यसको सदस्य हुनुहुन्छ । हामीले जुन लगेका थियौं, त्यो पास गरिदिएको भए हुन्थ्यो । त्यो पास नगरी अपर हाउसले ३ जना भइदिए बहुमत हुन्छ भनिदियो । यो लोकतन्त्रका लागि अत्यन्तै खतरानाक कुरा छ ।’
उनले वर्तमान सरकार ०८४ सम्म नै चलोस् भन्ने आफ्नो चाहना रहेको बताएका उनले सरकार राम्रोसँग चल्न भने नसकेको दावी गरे ।
उनले सरकार परिवर्तन गर्नुको कारण जनतालाई पुष्टि गर्नुपर्ने पनि बताए । उनले भने–‘जुन कारणले सरकार बदल्यौं त्यो कारण जनतालाई पुष्टि गर्न सक्नुपर्छ । अनि मात्रै हामी सफल हुन्छौं । अहिलेसम्म त्यो पुष्टि गर्न सकेका छैनौं ।’