रुपन्देही । प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनपछि रिक्त बनेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एमालेले औपचारिक रूपमा उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ ।
निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेसँगै सत्तारुढ एमालेले सम्भावित उम्मेदवार सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई निर्देशन दिएको हो ।
पार्टी महासचिव शंकर पोखरेलद्वारा पठाइएको पत्रमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनिएको छ ।
पत्रअनुसार, जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीमार्फत सिफारिस प्रक्रिया सञ्चालन गर्दै भदौ १५ भित्र सम्भावित नामहरू केन्द्रमा पठाउनु पर्नेछ ।
पार्टीका केन्द्रीय सचिव भीष्म अधिकारीका अनुसार, प्राप्त नामहरूबाट एमाले केन्द्रीय सचिवालयले अन्तिम निर्णय गर्नेछ।