काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको २० औं कार्यकाल अन्त्यको संघारमा देखिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेख्दै भण्डारीलाई मन्त्री पदबाट हटाई सर्वेन्द्रनाथ शुक्ललाई नियुक्त गर्न औपचारिक आग्रह गरेका छन् ।
स्रोतका अनुसार केही दिनअघि ठाकुरले प्रधानमन्त्री ओलीलाई भेटेर चिठी हस्तान्तरण गरेका थिए । सो भेटमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा श्रममन्त्री समेत परिवर्तन गर्ने आश्वासन दिएका थिए ।
२०७९ सालको निर्वाचनपछि लोसपाभित्र भएको आन्तरिक सहमति अनुसार पहिलो कार्यकाल भण्डारी र दोस्रो कार्यकाल शुक्लले मन्त्री बन्ने व्यवस्था गरिएको थियो । सो सहमति ठाकुरकै पहलमा गरिएको थियो ।
तर दाहाल नेतृत्वको पहिलो सरकार र त्यसपछिको ओली नेतृत्वको सरकार दुवैमा भण्डारी नै मन्त्री दोहोरिएपछि पार्टीभित्र गहिरो असन्तोष चुलिएको थियो । उनले हालसम्म मरिचमानसिंहदेखि ओलीसम्मको आठ प्रधानमन्त्रीको कार्यकालमा २० पटक मन्त्री पद सम्हालिसकेका छन् ।