काठमाडौं । देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पताल प्रशासनले कीर्ते कागजात पेश गरेको होटललाई क्यान्टिन (चमेनागृह)को जिम्मा लगाएको खुलेको छ ।
अस्पताल प्रशासनले ठूलो आर्थिक चलखेल गरी अनुभव नै नभएको संस्थालाई चमेनागृह सञ्चलनको अनुमती दिएपछि उक्त चमेनागृहलाई हटाई सो चमेनागृह सञ्चालन गर्न दिने दोषीलाई करबाही गर्न माग गर्दै विभिन्न निकायमा उजुरी परेको छ ।
वीर अस्पतालले चमेनागृह संचालनका लागि २०८१ कात्तिक ९ सूचना प्रकाशित गरेकामा गुजेश्वरी होटल प्रा लि, जी एन्ड बी क्याफे, सुनिल क्यान्टिन तथा कपडा पसल, शिवांश फूड एन्ड क्यान्टिन, आरएस मल्टिप्रपोज, नारायणी चमेनागृहर ग्रिनवर्ड बेकरी क्याफेले बोलपत्र प्रस्ताव पेश गरेका थिए ।
ठेक्का मूल्यांकन समितिमा रहेका लेखाका उपसचिव हिमलाल अधिकारी र लेखाअधिकृत महानराज ओलीले योग्यता नै नपुगेको गुजेश्वरी होटल प्रालिलाई अनुमति दिलाउन सेटिङ गरेको उजुरीमा आरोप लगाइएको छ । २०८१ मंसिर २२ मा अस्पतालले क्यान्टिन संचालन सम्झौता गरेको थियो ।
उजुरीमा गुजेश्वरीले क्यान्टिन संचालन गर्नका लागि २५ लाख कमिसन दिएको आरोप लगाइएको छ । क्यान्टिन संचालनको लागि टेण्डर सूचना प्रकाशित गर्दा उक्त सूचनाको भाग २ को बुँदा नंं २ (च), (छ) र (ज) मा भएको अनिवार्यरुपमा पेशगर्नुपर्ने कागजात र न्यूनतम योग्यताका आधारहरु पेश गर्नुपर्ने उल्लेख छ ।
जसमा चमेना गृह सञ्चालन गर्ने कम्पनीसँग सात वर्षको अनुभव, एक प्रमुख भान्छे र तीन जना भान्छेको व्यक्तिगत विवरण, योग्यता, अनुभव र प्रशिक्षण बारे उल्लेख छ ।
तर, गुजेश्वरीले नक्कली कागजातहरु पेश गरेर चमेना गृह सञ्चालनको अनुमति लिएको पुष्टि भइसक्दा समेत अस्पताल प्रसाशन मौन बस्नुले ठूलो आर्थिक चलखेल भएको आशंका उब्जिएको छ ।
लेखाका उपसचिव हिमलाल अधिकारी र लेखाअधिकृत महानराज ओलीले गुजेश्वरीसँग प्रभावित भएर सम्झौता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्ता भएको उजुरीमा उल्लेख छ ।
गुजेश्वरीले चमेनागृह संचालन सम्बन्धी १५ दिने सिलवन्दी प्रस्ताव सूचनामा अनिवार्यरुपमा पेशगर्नुपर्ने कागजात र न्यूनतम योग्यताका ७ बर्षको कार्य अनुभव र हाल उक्त सेवा संचालन गरिरहेको प्रमाणपत्र नक्कली पेश गरेको, स्वच्छताको न्यूनतम गुणस्तर प्रतिवेदन पेश नगरेको उल्लेख छ ।
एक प्रमुख भान्छे र तीन जना भान्छेको व्यक्तिगत विवरण, योग्यता, अनुभव र प्रशिक्षण पेश गरेको हुनुपर्नेमा क्यान्टिनको अनुमति पाएको गुजेश्वरी होटलले ती कुनै पनि पेश नगरेको उल्लेख छ ।
उजुरीमा भनिएको छ–‘योग्यता नपुगेको स्पष्ट हुँदाहुँदै लेखाका उपसचिव अधिकारी र लेखाअधिकृत ओलीले सेटिङमा गुजेश्वरी होटलसँग सम्झौता गरेका छन् । गुजेश्वरीले खानेकुरा पनि महङ्गो र गुणस्तरहीन खुवाउनुका साथै सरसफाइ पनि ध्यान दिएको छैन ।’
उजुरी उपर कारबाही गर्दै राष्ट्रिय सतर्कता केन्द्रले त गुजेश्वरीलाई ऐन नियम बिपरीत क्यान्टिनको ठेक्का दिएकाले रद्द गर्न २०८२ बैशाख ९ गते नै निर्देशन दिएको थियो ।
सतर्कताले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालाई बैशाख ९ गते पठाएको पत्रमा भनिएको छ–‘तसर्थ, आधारभुत योग्यता नै नपुगेको गुजेश्वरी होटल प्रालिको स्वीकृत प्रस्ताव सार्वजनिक खरिद ऐन, २०६३, नियमावली, २०६४ तथा प्रस्ताव गरेको आधारभूत शर्त र मापदण्डविपरीत भएको देखिंदा उक्त प्रस्तावलाई रद्द गरी पेश भएका क्राइटेरिया पुगेका प्रस्तावदाताहरुमध्येबाट सारभूत रूपमा प्रभावग्राही प्रस्ताव छनौट गर्न गराउनुहुन र सो को जानकारी यस केन्द्रमा गराउनुहुन भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०६१ को दफा ३८ (छ) बमोजिम निर्देशन दिइएको ब्यहोरा यस केन्द्रको सचिव स्तरको मिति २०८२/१/७ को निर्णणनुसार अनुरोध छ ।’
सतर्कताले वीर अस्पताल प्रसासनलाई निर्देशन दिएको तीन महिना कटिसक्दा समेत अझै त्यसको पालना भएको छैन ।
सतर्कताले वीर अस्पताललाई पठाएको पत्रमा प्रष्टसँग गुजेश्वरी होटलले नक्कली कागाजात तयार पारेर टेण्डर हत्याएको उल्लेख छ । तर, अस्पताल प्रशासन भने अझै मौन छ ।
नक्कली काजजात पेश गरेर क्यान्टिन हत्याउने गुजेश्वरी होटल र चमेना गृहका लागि स्वीकृती प्रदान गर्ने वीर अस्पतालका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न निकायमा उजुरी परिसकेको छ ।
त्यसैले सतर्कताको निर्देशन अटेर गर्ने वीर अस्पताल प्रशासनमाथि ठूलो कारबाही हुने देखिन्छ ।