काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले मन्त्री पदबाट राजीनामा दिएको एक महिना पुग्न लाग्दा समेत राजीनामा स्वीकृत भएको छैन ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीका अनुसार नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।
त्यसैदिन नाउपाका तर्फबाट मन्त्रिपरिषदमा रहेका राज्यमन्त्री अरुणकुमार चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका थिए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए।
चौधरीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकार छाडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो
तर, महिनादिन हुन लाग्दा पनी उनको राजीनामा स्वीकृत हुन सकेको छैन । यसको विवरण संसदमा समेत सुनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाे वेबसाइटमा पनि चौधरी राज्यमन्त्री नै रहेको उल्लेख छ ।