विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकताका लागि छलफल नभएको दाबी गरेका छन्।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले एकीकरणको कुरा नभएको तर, सहकार्यको भने कुरा भएको बताए ।
सुनसरीको पार्टी कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थल पुगेका अध्यक्ष नेपालले समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल चलिरहेको बताए।
तर, अहिले समाजवादी मोर्चाको संयोजक रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भने समाजवादी मोर्चा विघटनको प्रस्ताव गरिसकेका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालले मोर्चा विघटन गर्न नहुने बताएका थिए।
विप्लवको प्रस्ताव आउनेवित्तिकै दाहाल र नेपालबीच पटक–पटक वार्ता भइसकेको छ । यो साता प्रचण्डसँग निरन्तर वार्ता गरिरहेका नेपालले एकताको विषयमा कुरा नभएको दावी गरेका हुन् ।
प्रचण्ड भने एकताका लागि जोड गरिरहेका छन् । उनले त सार्वजनिक कार्यक्रममै एकताका लागि आग्रह गरिसकेका छन् ।
तर, एकीकृत समाजवादीभित्र माओवादीसँग एकता गर्न नहुने मत बलियो छ ।
सम्मानित नेता झलनाथ खनालले त माओवादीमा जान चाहनेहरु गए हुने भन्दै कडा अभिव्यक्ति दिइसकेका छन् ।
अध्यक्ष नेपालले ओलीको दम्भ र अहंकारले नेपालको कम्युनिष्ट आन्दोलन नै असहज अवस्थामा पुगेको आरोप लगाए।
प्रधानमन्त्री ओली नेतृत्वको सरकार सबै हिसाबले असफल बनेको आरोप लगाउँदै नेपालले भने–‘केपी ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले गर्दाखेरि देश पूरै पीडित छ। जबसम्म केपी ओलीलाई बिदा गरिँदैन, देश यो पीडाबाट मुक्त हुने स्थिति बन्दैन।’