चितवन । चितवनमा डेङ्गुका विरामीहरु बढ्न थालेका छन् । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा मात्रै २० जनामा डेङ्गु पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।
सात सय ९८ जनाको परीक्षणका क्रममा २० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन् ।
वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ ।
यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्छ ।
डेङ्गुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको कार्यालयले जनाएको छ ।
सन् २०१० मा नेपालमै पहिलोपटक डेङ्गुको महामारी फैलिएको थियो जसका कारण चितवनमा झन्डै दुई दर्जन व्यक्तिको ज्यान गएको थियो।