काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत अभिव्यक्ति दिएका कारण पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले ‘एमाले टुक्र्याउनु गलत भएको’ भन्ने खनालको भनाइप्रति प्रतिक्रिया दिँदै यस्तो अभिव्यक्ति पार्टी अनुशासनविपरीत भएको बताएका हुन् ।
उनले भने, “पार्टीको संस्थागत निर्णय नमान्ने र उल्टो धारणाको पुनरावृत्ति गर्नेले नैतिकताका आधारमा अलग हुनुपर्छ ।” अध्यक्ष नेपालले झलनाथ खनालले विगतमा पनि पटक–पटक पार्टी निर्णयको उल्लंघन गरेको उल्लेख गर्दै, उनको भनाइको पार्टीमा कुनै अर्थ नरहने टिप्पणी गरे ।
एकीकृत समाजवादी अध्यक्ष नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले राजनीतिमा फर्कन संविधानले रोक नलगाएको स्पष्ट गर्दै, त्यो उनीहरूको व्यक्तिगत निर्णयमा भर पर्ने बताए ।