काठमाडौं । प्रतिनिधि सभाको ठूलो राजनैतिक दल नेपाली कांग्रेसले निर्वाचन आयोगले ल्याउन लागेको 'स्वमूल्यांकन कार्यविधि' प्रति असहमति जनाएको छ ।
आयोगले गर्न तयार गर्न लागेको स्वमूल्यांकन कार्यविधिमा कांग्रेसको शतप्रतिशत असहमति रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
शर्माले भने- ‘दलहरूको मूल्यांकन त जनताले गर्छ नि ठिक र बेठिक भनेर । राष्ट्रिय मान्यता प्राप्त के हुने, समावेशिता सम्बनिध के पुग्यो के पुगेन भन्ने दलहरूका लागि अन्य विविध कानुनहरू छन्।'
निर्वाचन आयोगको कुनै एक कर्मचारीले जनताद्वारा निर्वाचित भएका दलहरूलाई नियमन गर्ने र गराउने गर्ने विषय मान्य नहुने शर्माले बताए ।
यसअघि सत्तारुढ दल नेकपा एमालेले पनि निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्यांकन कार्यविधि’ प्रति असहमति जनाइसकेको छ ।
यस्तै नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगुवाइमा हिजो सिंहदरबारमा बसेको बैठकले कार्यविधिको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने आज अन्तिम दिन हो ।
निर्वाचन आयोगले यही साउन ८ गते ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ प्रकाशन गरेर यसउपर सुझाव मागेको थियो ।
त्यसअगाडि नै राजनीतिक दलहरूलाई कार्यविधि पठाएर सुझाव दिन भनेको थियो ।