काठमाडौं । जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ ।
केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरी र सदस्यसचिव अनिताकुमारी मण्डलले विज्ञप्ति जारी गरेर सहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको जानकारी दिएको हो ।
पार्टीको विधानविपरीत विरोधी गतिविधिहरूमा निरन्तर संलग्न रहेको भन्दै साहलाई पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टी फुटाउनका लागि निरन्तर बैठक, गुटबन्दी र गतिविधि गरेको, पार्टीको विरोधमा अन्तर्वार्ता दिएको र गलत समाचारहरू प्रकाशित गरेको, पार्टीको नीति, नियम, निर्णय र कार्यक्रमहरूको विरोधमा सार्वजनिक अभिव्यक्ति दिएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको आरोप लगाइएको छ।